धादिङ महोत्सव २०८२ मा बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन दबाब : हस्ताक्षर अभियानमा ४ हजारभन्दा बढीको सहभागिता
धादिङ l धादिङ महोत्सव २०८२ मा नेपालको राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरिएको छ । अभियान आज दशौ दिनमा प्रवेश गर्दा चार हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेका छन्।
धादिङ महोत्सव–२०८२ को अवसर पारेर सञ्चालन भइरहेको यस अभियानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका धादिङ क्षेत्र-२ का उम्मेदवारहरूले समेत सहभागिता जनाउँदै समर्थन व्यक्त गरेका छन्। अभियानमा नेकपाका उम्मेदवार रामबहादुर भण्डारी, नेकपा एमालेका धनबहादुर घले सहभागी भएर हस्ताक्षर गरेका छन्।
त्यसैगरी, आज बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं धादिङ क्षेत्र -१ मा नेकपाका उम्मेवाद राजेन्द्र प्रसाद पाण्डे सहित अभियानस्थलमा उपस्थित भई हस्ताक्षर गर्दै आयोजनाको शीघ्र कार्यान्वयनका लागि समर्थन जनाउनुभएको छ।
अभियान आयोजकका अनुसार बुढिगण्डकी जलविद्युत आयोजना तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले हस्ताक्षर अभियानलाई निरन्तरता दिइनेछ।