गोली प्रहार गरिएको गाउँबाट चुनावी यात्रा सुरु गर्दै धादिङ–२ का उम्मेदवार रामबहादुर भण्डारी
धादिङ–२ का ताराबहाक उम्मेदवार रामबहादुर भण्डारीको चुनावी अभियान आफैँलाई गोली लागेको गाउँबाट
धादिङ। जनयुद्धका क्रममा नेपाल प्रहरीले गोली हानी हत्या गर्ने प्रयास गरेको स्थान धादिङको नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो चुनावी अभियानको उद्घाटन गर्ने भएका छन्।
उम्मेदवार भण्डारीले माघ २५ गते बिहान ८ बजे गोलाभञ्ज्याङमै विशेष कार्यक्रमका बीच चुनावी अभियानको औपचारिक उद्घाटन गर्ने जानकारी दिएका हुन्।
२०५५ साल जेठ १८ गते बिहान ४ बजे नेपाल प्रहरीले सञ्चालन गरेको “किलोसेरा–२ अपरेसन” अन्तर्गत भण्डारीलाई आफ्नै घरबाट गिरफ्तार गरिएको थियो। भोलिपल्ट २०५५ साल जेठ १९ गते साविक ज्यामरुङ–४ गोलाभञ्ज्याङमा उनको बायाँ छातीमा गोली प्रहार गरी मृत घोषणा गरिएको थियो। तर स्थानीय बासिन्दाको साहसिक सहयोगमा उनलाई उद्धार गरी धादिङ जिल्ला अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइयो र जीवन रक्षा भएको थियो।
“मेरो पहिलो जन्म आगिञ्चोकमा भए पनि दोस्रो जन्म गोलाभञ्ज्याङमै भएको हो,” उम्मेदवार भण्डारीले सीपीएन प्रेस सेन्टरसँग भने, “त्यसैले मैले मेरो चुनावी अभियानको उद्घाटन पुनर्जीवन पाएको यही भूमिबाट गर्न लागेको हुँ।”
उनले गोलाभञ्ज्याङका स्थानीयवासीलाई आफ्नो ‘दोस्रो जन्मदाता’को संज्ञा दिँदै जनयुद्धको कठिन समयमा माओवादीलाई सहयोग गर्दा पनि मानवीयता देखाएर आफूलाई मृत्युको मुखबाट बचाएको स्मरण गरे। “म हरेक नयाँ योजना र कामको सुरुवात गर्दा गोलाभञ्ज्याङबासीलाई सम्झन्छु,” उनले भने।
चुनावी अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय नेताहरूको समेत सहभागिता रहने बताइएको छ।
चुनावी अभियानको कार्यक्रम तालिका
गोलाभञ्ज्याङ – बिहान ८ बजे (उद्घाटन)
नयाँगाउँ (कुमाई ज्यामरुङ) – बिहान ९ बजे
हनुमानडाँडा – बिहान १० बजे
भारमाले – बिहान ११ बजे
ढाडागाउँ – दिउँसो १२ बजे
सिम्ले (लामाथान–चामभञ्ज्याङ–गैरीगाउँ–धमलागाउँ) – दिउँसो १ बजे
भोर्ले–सेउली – दिउँसो ३ बजे
आलडाँडा – दिउँसो ३:३० बजे
वडा नं. १२ कार्यालय – दिउँसो ४ बजे
उम्मेदवार
रामबहादुर भण्डारी
प्रतिनिधिसभा सदस्य
धादिङ निर्वाचन क्षेत्र नं. २