जनयुद्धको घाइते शरीर र स्वास्थ्य समस्याका बाबजुद रामबहादुर भण्डारी धादिङको उत्तरी क्षेत्रमा मतदाता भेटघाटमा
धादिङ | माघ २०
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी जनयुद्धका क्रममा घाइते भएको शरीर बोकेर तथा हाल स्वास्थ्य समस्याबीच पनि धादिङको उत्तरी क्षेत्रमा सक्रिय रुपमा मतदाता भेटघाटमा जुट्नु भएको छ। जनयुद्धका दिनहरूमा गम्भीर रूपमा घाइते भई ‘जिउँदो शहीद’का रूपमा चिनिनु भएका भण्डारी वर्तमान अवस्थामा खुट्टा फ्र्याक्चरको समस्याबाट पीडित रहनु भए पनि जनसम्पर्क अभियानलाई निरन्तरता दिइरहनु भएको हो।


धादिङ क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहनु भएका भण्डारी माघ १८ गते धादिङबाट नेत्रावति डबजोङ गाउँपालिकातर्फ प्रस्थान गर्नु भएको थियो। माघ १९ गते नेत्रावति डबजोङ गाउँपालिकाका विभिन्न वडाहरूमा पार्टी नेता–कार्यकर्ता तथा स्थानीय जनतासँग भेटघाट र अन्तरक्रिया गर्नु भयो।

यसैक्रममा आज माघ २० गते खनियाबास गाउँपालिकामा पुग्नु भएको छ। खनियाबासका विभिन्न स्थानहरूमा पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, आवश्यकता र राजनीतिक अपेक्षाबारे छलफल गर्दै हुनुहुन्छ।


जनयुद्धको घाइते शरीर र हाल देखिएको खुट्टा फ्र्याक्चरको स्वास्थ्य समस्याका बाबजुद पनि धादिङको दुर्गम उत्तरी क्षेत्रमा पुगेर अभियान सञ्चालन गर्नु भण्डारीको संघर्षशीलता, त्याग र राजनीतिक प्रतिबद्धताको प्रतीक बनेको स्थानीयहरूको भनाइ छ।