निर्वाचन कार्यालय घटनामा एमाले धादिङले स्वीकार्यो कमजोरी, माग्यो माफी
धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीले उम्मेदवारी दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालयमा भएको घटनाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटीको बैठकले मिति २०८२ माघ ६ गते धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ताका क्रममा पार्टीभित्र देखिएको टिकट विवाद तथा त्यसबाट सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबै पक्षसँग माफी माग्ने निर्णय गरेको हो।
बैठकका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको उम्मेदवार सिफारिस टिकट धनबहादुर घले र चन्द्र रिजाल दुबैजनाले ल्याएका थिए। दुबै उम्मेदवारले उम्मेदवारी दर्ता गर्न प्रयास गरेपछि उत्पन्न परिस्थितिमा कार्यकर्ताले चन्द्र रिजाललाई कार्यालयको गेटमै रोकी धनबहादुर घलेलाई कार्यालयभित्र प्रवेश गराएका थिए।
सोही क्रममा उत्पन्न तनावका कारण चन्द्र रिजालले निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीले आफूलाई रोक लगाएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मामाथि दुव्र्यवहार गरेको एमालेको भनाइ छ।
घटनाले आफ्नो कर्तव्यमा खटिएका मुख्य निर्वाचन अधिकृत, कर्मचारी तथा सुरक्षा निकायको सम्मान र मनोबलमा असर पुगेको स्वीकार गर्दै पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै निर्वाचन प्रक्रियामा संलग्न सबै कर्मचारी तथा सुरक्षा निकायलाई निर्भीक र उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।
नेकपा एमालेले लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रणाली तथा त्यसमा संलग्न सबै निकायप्रति पूर्ण सम्मान र सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।