Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, पौष ३०, २०८२

वडा अध्यक्ष राजेन्द्र थापाद्वारा थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी

वडा अध्यक्ष राजेन्द्र थापाद्वारा थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी

पौष ३० धादिङ

धादिङको थाक्रे गाउँपालिकाअन्तर्गत वडा नम्बर ६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि आवश्यक नर्सिङ कर्मचारी नपठाइएपछि वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले गाउँपालिका को स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्।

विगतका वर्षहरूमा वार्षिक ७० देखि ८० जनासम्म सुत्केरी हुने उक्त स्वास्थ्य चौकीमा नर्सिङ कर्मचारीको अभावका कारण प्रसूति सेवा (बर्थिङ सेवा) गम्भीर रूपमा प्रभावित भएको जनाइएको छ। पटक–पटक सुत्केरी सेवा सञ्चालनका लागि कर्मचारी माग गर्दा पनि स्वास्थ्य शाखाले आवश्यक जनशक्ति नपठाउँदा सेवा पूर्ण रूपमा अवरुद्ध भएको र यसबाट विशेषगरी गर्भवती तथा सुत्केरी महिलाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको वडा अध्यक्ष थापाले बताएका छन्।

यसका साथै नियमित औषधि आपूर्तिमा समस्या, ल्याबका लागि आवश्यक रसायन खरिदमा ढिलासुस्ती, आँखा केन्द्रको व्यवस्थापनमा गैरजिम्मेवारी, मेडिकल उपकरण खरिद तथा विद्युत् क्षमतावृद्धि सम्बन्धी कामहरूमा समेत स्वास्थ्य शाखाले बेवास्ता गरेको आरोप लगाइएको छ। ती विषयमा पछिल्ला दुई वर्षदेखि पटक–पटक पत्राचार र जानकारी गराउँदा पनि समाधानतर्फ गम्भीर नदेखिएको उनको भनाइ रहेको छ।

नीति तथा कार्यक्रममा पास भई बजेट विनियोजन भइसकेका थर्मल थेरापी सेवा सामग्री खरिद, सीबीसी (CBC) मेसिन खरिद तथा इमर्जेन्सी औषधि खरिदजस्ता कार्यक्रमहरू पनि कार्यान्वयन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। साथै कार्यपालिका बैठकबाट भएका निर्णयहरू स्वास्थ्य शाखा तथा गाउँपालिकाले कार्यान्वयन नगरेको आरोप पनि थापाले लगाएका छन् ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु स्वास्थ्य शाखाको दायित्व भए पनि जनप्रतिनिधिको बारम्बारको आग्रहलाई समेत बेवास्ता गर्दै गैरजिम्मेवार बनेको भन्दै खेद प्रकट गरिएको छ। ती सबै समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउन तालाबन्दी गरिएको वडा अध्यक्ष थापाले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया