Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, पौष ३०, २०८२

धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

धादिङ ३० पौष

भङ्गेरी युवाक्लबद्वारा धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

क्लबले माघेसङ्क्रान्तिको अवसर पारेर नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाकोट भँगेरीस्थानमा गोरुजुधाई महोत्सव तथा तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी तीव्र पारेको हो ।

नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा भङ्गेरी युवाक्लबको आयोजनामा हुने उक्त कार्यक्रम सोनाम ल्होसार मञ्जुश्री सम्वत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को अवसरमा शुभकामना आदान–प्रदानसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष विशाल तामाङका अनुसार धुवाकोटमा परम्परागत रूपमा हुँदै आएको गोरुजुधाई महोत्सवमार्फत कृषक प्रोत्साहन, कृषि संस्कृति संरक्षण, मनोरञ्जन प्रदान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । यसैगरी, क्लबकी उपाध्यक्ष कमला तामाङले तामाङ समुदायको पहिचान, मेलमिलाप, संस्कृति तथा रीतिरिवाजको संरक्षणसँगै समुदायको हित र क्लबको विकासका लागि आर्थिक संकलन गरी कोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रममार्फत करिब १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार सलिना तामाङ, सैल्प वाइवा, बिनिता गुरुङलगायत स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । कार्यक्रमको मिडिया पार्टनर रेडियो विहानी ९७.६ मेगाहर्ज रहने आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया