Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, पौष २३, २०८२

दशौँ धादिङ महोत्सव माघ १५ गतेदेखि, एक लाख दर्शक भित्र्याउने लक्ष्य

दशौँ धादिङ महोत्सव माघ १५ गतेदेखि, एक लाख दर्शक भित्र्याउने लक्ष्य

धादिङ — जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले दशौँ धादिङ महोत्सव–२०८२ आयोजना हुने भएको छ। महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित खुला मञ्चमा सञ्चालन हुनेछ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा तथा नीलकण्ठ नगरपालिकाको संरक्षण र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँको प्रवर्द्धनमा महोत्सव आयोजना हुन लागेको हो। आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवसम्बन्धी जानकारी दिइएको हो। महोत्सवमार्फत नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिरको प्रचार–प्रसार गरिने आयोजकले जनाएको छ। साथै, महोत्सवमा एक सय व्यावसायिक स्टल, २० घरेलु तथा साना उद्योगका स्टल र ४० कृषि तथा अन्य उत्पादनका स्टल रहनेछन्। यसले जिल्लामा उत्पादित कृषि, घरेलु तथा औद्योगिक वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले व्यक्त गरे।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै, महोत्सव अवधिभर विभिन्न विषयका विज्ञ तथा सरोकारवालाबीच प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतिस्पर्धा, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम, बाल उद्यान तथा मनोरञ्जनात्मक मेला सञ्चालन गरिने बताइएको छ।

यसअघि सम्पन्न धादिङ महोत्सवहरूले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय व्यावसायिक वातावरण सुदृढ गर्न सकारात्मक योगदान दिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए। पत्रकारहरूको जिज्ञासाको सम्बोधन गर्दै उनले भने,
यो महोत्सवले पनि धादिङको पहिचान स्थापित गर्न ठूलो सहयोग गर्नेछ। जिल्लालाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा अघि बढाउँदै स्थानीय उत्पादनको बजार विस्तार, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विकास र रोजगारीका अवसर सिर्जना हुने विश्वास लिएका छौँ।”

महोत्सव सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमिति तथा विषयगत समितिहरू सक्रिय रूपमा क्रियाशील रहेका छन्। महोत्सवलाई भव्य, व्यवस्थित र सफल बनाउन सबै सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सर्वसाधारणको महत्वपूर्ण भूमिका रहेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले बताए।
उनले भने, “विगतका वर्षहरूभन्दा यस वर्षको महोत्सव फरक र प्रभावकारी हुनेछ। स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ र जिल्लामा हुने उत्पादनको बजारीकरणमा ठूलो टेवा पुग्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया