गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने

काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ।
जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धक अवस्थामा खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारहरूको समूह ‘होस्टेज फ्यामिली फोरम’ ले उक्त जानकारी दिएको छ।
इजरायलमा कृषि अध्ययन गरिरहेका विपिन जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंककारीहरूले अपहरण गरी गाजामा लगेको थियो।
अपहरण भएको केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर इजरायली सेनाले उपलब्ध गराएको छ। सोही भिडियोको ३० सेकेन्ड लामो क्लिप आज बेलुकी इजरायल समय अनुसार ७ः५५ बजे (नेपाल समय राति १०ः४० बजे) सार्वजनिक गरिने इजरायली सञ्चारमाध्यम द टाइम्स अफ इजरायल ले जनाएको छ।
उक्त भिडियो इजरायली सेनाले प्राप्त गरी गुप्तचर अधिकारीहरूले जोशीको परिवारसँग साझा गरेका थिए।
फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ,
“गाजामा भेटिएको यो जीवनको सङ्केत, जुन हामी आज सार्वजनिक गर्दैछौं, यसले विपिन अझै जीवित रहेको हाम्रो विश्वासलाई थप बलियो बनाउँछ।”
इजरायलले विपिन जोशीसहितका दुई बन्धकको अवस्थाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ। तर इजरायली सेनाले अहिलेसम्म जोशीको मृत्युको पुष्टि गरेको छैन।