Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
सोमबार, आश्विन २०, २०८२

‘आमाबुवाबारे सोच्नुस्’ भन्दै प्रहरीलाई थर्काउने ‘जेनजी कार्यकर्ता’, दसैँमा गाउँ गएर गरे आमाको हत्या

‘आमाबुवाबारे सोच्नुस्’ भन्दै प्रहरीलाई थर्काउने ‘जेनजी कार्यकर्ता’, दसैँमा गाउँ गएर गरे आमाको हत्या

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकटेरीमा एक छोराले आफ्नै आमाको विभत्स हत्या गरेका छन् ।

आइतबार राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवनपछि ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

काठमाडौंमा बस्दै आएका यमबहादुर दसैँ मनाउन फूलपातीको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए ।

घटनाको रात उनले असामान्य ढंगको धारिलो हतियार बोकेर घर प्रवेश गरेका थिए । सुरुमा उनले आफ्ना भान्जालाई खुकुरी प्रहार गर्ने प्रयास गरे । भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजे तर बुवा उम्किए । त्यसपछि उनले आमामाथि हतियार प्रहार गरी टाउको र शरीर छुट्टिने गरी हत्या गरेका थिए ।

खुकुरी प्रहारबाट ज्यान जोगाएर भागेका भान्जाले गाउँमा खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

यमबहादुर लामो समयदेखि दुर्व्यसनमा फसेका व्यक्ति भएको र उनलाई सुधारगृहमा पठाउन बुबा गोपबहादुर कँडेललगायत परिवारका सदस्यले पटक–पटक पहल गर्दै आएको प्रहरीले जनाएको छ ।

गत २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा यमबहादुरले प्रहरीसँग झोक्किँदै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा फेरि भाइरल भएको छ ।

भिडियोमा उनले प्रहरीलाई चुनौती दिँदै भनेका थिए- ‘ठोक्ने भए गोली ठोक्नू, मार्ने भए मार्नू, आनन्द त आउँछ । देशको चिन्ता छैन, मेरो आत्मा भगवानले लानुहुन्छ । म सुत्न सक्दिनँ किनभने देश र तपाईंहरूको आत्माको चिन्ता गर्छु ।’

त्यो बेला उनले प्रहरीलाई चेतावनी दिँदै आमाबुवा र देशका लागि सोच्न पनि आग्रह गरेका थिए- ‘ म वान म्यान आर्मी हुँ । भारतीय र अमेरिकी पुँजीवादी दलालसँग एक्लै लड्न सक्छु । तपाईंहरूले पनि बेलैमा जनताको लागि सोच्नुस्, आफ्ना आमाबुवाको लागि सोच्नुस् ।’

तर यही व्यक्ति गएराति आफ्नै आमाको हत्या गरेको तथ्य बाहिर आएको छ । घटनापछि प्रहरी चौकी सल्यानकोटले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार उनी यसअघि पनि पटक–पटक विभिन्न आपराधिक घटनामा पक्राउ परेका थिए । उनी कुख्यात गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग आबद्ध रहेर गतिविधि गर्दै आएको बताइएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया