धादिङ — जेनजी आन्दोलनमा भाइरल बनेका युवाद्वारा आमाको हत्या

धादिङ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग वादविवाद गर्दै भाइरल बनेका एक युवाले आफ्नै आमाको हत्या गरेको घटनाले देशभर चकित पारेको छ।
त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आइतबार राति धारिलो हतियार प्रयोग गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालका अनुसार अनुसन्धानका क्रममा यमबहादुरले आमामाथि हतियार प्रहार गरेको पुष्टि भएको छ। प्रहरी टोलीले घटनास्थलमै उनलाई हतियारसहित नियन्त्रणमा लिएको थियो।
स्थानीयहरूले घटनालाई अकल्पनीय भन्दै दुःख व्यक्त गरेका छन्। उनीहरूका अनुसार यमबहादुर केही समययता असामान्य व्यवहार देखाउँदै आएका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडिओहरूमा यमबहादुर “मेरो आँखामा डर छ? म डराएको छु? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन” भन्ने संवादसँगै भाइरल भएका थिए। ती भिडियोका कारण उनी सामाजिक सञ्जालमा चर्चित बनेका थिए।
तर, त्यही युवाले आमाको ज्यान लिएपछि गाउँ नै स्तब्ध बनेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
तस्बिर स्रोत : अनुप सिटौला