Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
सोमबार, आश्विन २०, २०८२

बंगालको खाडीको जलवाष्पयुक्त हावा कमजोर, भारी वर्षाको सम्भावना घट्यो

बंगालको खाडीको जलवाष्पयुक्त हावा कमजोर, भारी वर्षाको सम्भावना घट्यो

काठमाडौं, असोज २० —
बंगालको खाडीबाट नेपालतर्फ आइरहेको जलवाष्पयुक्त हावा कमजोर बनेपछि आज (सोमबार) देशभर भारी वर्षाको सम्भावना घटेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुको मात्र प्रभाव जारी छ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आउन बन्द भएसँगै देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको उल्लेख छ।

आज दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली हुने मौसम विज्ञहरूले जनाएका छन्। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसअघि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज १७ देखि १९ गतेसम्म मनसुन सक्रिय बनेको थियो। उक्त अवधिमा मधेस र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अतिभारी वर्षा भएको थियो।

यद्यपि, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बाहिरिन बाँकी रहेको विभागले जनाएको छ। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १५–१६ तिर) भए पनि यस वर्ष ढिलो भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया