धादिङको बैरेनी चोकमा निःशुल्क वाइफाइ सेवा सुरु
धादिङ । धादिङको सिद्धलेख गाउँपालिका–१ बैरेनी चोकमा सोमबारदेखि निःशुल्क वाइफाइ सेवा सुरु गरिएको छ। स्थानीय युवाहरुको समूह नलाङ युनिटी टिम को पहलमा स्थापना गरिएको यो सेवाबाट अब बैरेनी क्षेत्रमा बस्ने बासिन्दा, विद्यार्थी, व्यापारी तथा त्यहाँ आउने आगन्तुकले निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन्।
नलाङ युनिटी टिमका सदस्य राजु सिंखडाका अनुसार यो अभियानलाई डिजिटल बैरेनी अभियानको प्रारम्भिक चरणका रूपमा अगाडि बढाइएको हो। उनले भने, “हाम्रो उद्देश्य बैरेनीलाई डिजिटल क्षेत्रमा अगाडि बढाउनु हो। यसलाई सफल बनाउन स्थानीयको साथ, सुझाव र सहयोग अपरिहार्य छ।”
टिमले प्रारम्भमा बैरेनी चोकमा मात्र सेवा सुरु गरे पनि आगामी दिनमा यसलाई विस्तार गर्दै सम्पूर्ण बैरेनी क्षेत्रलाई ‘फ्री वाइफाइ जोन’ बनाउने योजना लिएको छ। यसले विद्यार्थीलाई अध्ययनमा, व्यापारीलाई कारोबारमा र आगन्तुकलाई आवश्यक सूचना आदानप्रदानमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले यस पहललाई खुलेर स्वागत गरेका छन्। उनीहरूले यसले समुदायलाई डिजिटल सुविधासँग जोड्ने मात्र नभई नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउन पनि महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
नलाङ युनिटी टिमले इच्छुक जो कोहीले आर्थिक वा प्राविधिक सहयोगमार्फत अभियानमा साथ दिन सक्ने व्यवस्था मिलाएको छ। टिमसँग सम्पर्क गरेर सहयोग गर्न सकिने बताइएको छ।
सामुदायिक नेतृत्वमा सुरु गरिएको यो अभियानले बैरेनीलाई डिजिटल गाउँ बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको स्थानीयले बताएका छन्।