धादिङको गणेशस्थानमा यू–१८ ७–ए–साइड फुटबल प्रतियोगिता हुँदै
धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका–६ गणेशस्थानमा रहेको गणेशस्थान फुटबल क्लब (G.F.C) ले नयाँ वर्ष २०८२ को अवसर पारेर यू–१८ स्तरको ७–ए–साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबले युवाबीच एकता, भाइचारा तथा खेलकुदको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ। प्रतियोगिता २०८२ चैत २८ गतेदेखि सुरु भई २०८३ वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता गणेशस्थान फुटबल क्लबको हाँसे पसल खेल मैदानमा हुने छ। टिम दर्ताको अन्तिम मिति चैत २७ गते दिउँसो १ बजेसम्म तोकिएको छ भने खेल २८ गते बिहान ११ बजेदेखि सुरु हुनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले रु. ३००० दर्ता शुल्क र रु. १००० डिपोजिट रकम बुझाउनुपर्नेछ। प्रत्येक टिममा ७ खेलाडी र ३ वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ।
पुरस्कारतर्फ प्रथम हुने टिमले रु. १५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. ६,६६६ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा ‘Player of the Match’ को पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। कुनै विवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम हुने तथा खेल सुरु हुनु भन्दा ३० मिनेट अगाडि मैदानमा उपस्थित हुनुपर्ने नियम राखिएको छ।
स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुन लागेको यस प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुदको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।