धादिङको नीलकण्ठ–३ र १२ जोड्ने पुछार बजारमा पक्की पुल निर्माण सुरु, ४.५ करोडको टेन्डर आह्वान
३ चैत धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ३ र १२ लाई जोड्ने साँकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) अन्तर्गत पुछार बजारमा पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको छ। करिब साढे चार करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलका लागि बहुवर्षीय टेण्डर आह्वान गरिएको छ।
यसअघि सो स्थानमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी बजेट विनियोजन गरिएको थियो। हाल उक्त योजनालाई निरन्तरता दिँदै निर्माण प्रक्रिया अघि बढाइएको हो।
लामो समयदेखि आवश्यक रहेको उक्त पुल निर्माण हुने भएपछि नीलकण्ठ–३ र १२ बीचको आवतजावत सहज हुने, स्थानीय बासिन्दालाई राहत पुग्ने तथा विकासका गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।
उक्त पुल उत्तरी धादिङका विभिन्न स्थानीय तहलाई जोड्ने मुख्य संरचनाका रूपमा रहनेछ। विशेष गरी पाँच वटा पालिकासम्म पुग्ने यो सडक खण्डमा बर्खायाममा थोपल खोलामा आउने बाढीका कारण आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहँदै आएको थियो। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने आवागमन अवरोधको समस्या समाधान भई स्थानीयको दैनिक जीवन तथा ढुवानी प्रणालीमा समेत सहजता आउने विश्वास गरिएको छ।

