श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
सोमबार, फाल्गुण ११, २०८२

बस दुर्घटनास्थलमा रहेका धादिङका सीडीओ भन्छन्– उद्धार सामग्री अभाव महसुस भयो

बस दुर्घटनास्थलमा रहेका धादिङका सीडीओ भन्छन्– उद्धार सामग्री अभाव महसुस भयो

११ फागुन, काठमाडौं । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानमा बस दुर्घटनाहुँदा रातभर उद्धारमा खटिएका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उद्धार सामग्री अभाव महसुस भएको बताएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस राति करिब एक बजे त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । २७ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले सिद्ध खबरसँग भने ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया